0
Aalaichi

३० भदौ, काठमाडौं । विदेशी अलैंचीको आयात बढ्दा नेपाली अलैंचीको बजार प्रभावित भएको छ । विदेशी अलैंची आयात गरी नेपालमै उत्पादन भएको गुणस्तरीय अलैंचीमा मिसावट गर्ने प्रवृत्तिले नेपाली अलैंची दुर्घन्धित भएको कृषि बाली व्यवसायी प्रवर्द्धन नेपालका अध्यक्ष राजेन्द्रकुमार घिमिरेले बताए ।
यसैकारण यसले उचित बजार मूल्य नपाएको गुनासो कृषकहरुको छ । आर्थिक वर्ष २०७२/७३ मा मात्रै नेपालमा विदेशबाट २५ लाख रुपैयाँ बराबरको अलैंची आयात भएको थियो । आयातित अलैंचीका कारण नेपाली अलैंची चेपुवामा परेको उनको भनाइ छ ।
यसैकारण किसानले प्रतिमन १ लाख ५ हजार रुपैयाँसम्म पाएको अलैँचीको मूल्य उच्च दरमा घटेको छ । अहिले प्रतिमन ५७ हजार रुपैयाँमा समेत बिक्री गर्नुपरेको घिमिरेले बताए ।
यस्तो प्रवृत्तिले नेपालमा उत्पादन हुने गुणस्तरीय अदुवा, सुपारी, स्याउ र लसुनको अन्तर्राष्ट्रिय बजारसमेत प्रभावित भएको उनले बताए ।
निर्यात किसानलाई देऊ
नेपालमा उत्पादन भएका कृषिजन्य उत्पादन निर्यातमा रहेको प्रक्रिया झन्झटिलो रहेका कारण किसान आफैंले विदेश पठाउन सक्दैनन् । त्यसैको आडमा ठूला माफियाहरु नै बढी लाभ लिने प्रलोभनमा परेर गुणस्तरीय उत्पादनमा विदेशी अलैँची मिसाएर विदेश पठाउन संलग्न हुने गरेको किसानको आरोप छ ।
उत्पादकले नै आफ्नो सामान निर्यात गर्ने अवस्था सिर्जना नभएसम्म नेपालमा उत्पादन भएका कृषि जन्य बस्तुले बजार भाऊ नपाउने घिमिरेको भनाइ छ ।
अहिले विभिन्न निकायको सिफारिसको आधारमा निर्यात गर्ने व्यक्ति तथा संस्थाले विदेशबाट आयात भएको गुणस्तहीन कृषि वस्तु मिसावट गर्दै निर्यात गर्ने प्रवृत्ति बढेकै कारण नेपालमा उत्पादन भएका सामान बि्रगने अवस्थामा पुगेको र नेपाली अग्र्यानिक कृषिजन्य बस्तुमा समेत प्रश्न चिन्ह खडा भएको घिमिरेले बताए ।
अहिले देशमै उत्पादन, प्रशोधन र बजारीकरण गरी आयातलाई प्रतिस्थापन गर्न सकिने कृषिजन्य बालीको आयातले अर्थतन्त्रमा ठूलो भार परेको सरोकारवालाहरुको भनाइ छ ।
विदशेबाट आउनेको तथ्यांक माग
पर्दा पछाडिका व्यवसायीहरुको दबावमा सुपारी उत्पतिको प्रमाणपत्र जारी गर्नु पूर्व संस्था पहिचान गरी सिफारिस गर्ने अधिकार प्रदान गर्ने निकायको निर्णयले नै सुपारी खेती धरापमा परेको घिमिरेले बताए ।
यसकै कारण आर्थिक वर्ष २०७१/७२मा नेपालमै उत्पादन भएका सुख्खा सुपारी निर्यात हुननुक्दा गोदाममै बि्रगेर जाने अवस्थामा पुगेको नेपाल सुपारी उत्पादक संघ तथा व्यवसायी रुद्र चापागाईले बताए ।
त्यस्तै बजारीकरणको राम्रो व्यवस्था हुन नसक्दा नेपालमा उत्पादन भएका ताजा र अर्गानिक स्याउ गाईबस्तुलाई खुवाउनु परेको किसानहरु बताउँछन् । तर व्यवसायीले भने नेपाली उत्पादनले नधान्ने भन्दै गलत तथ्यांक देखाएर विदेशी स्याउ भित्र्याइरहेका छन् ।
स्वदेशी उत्पादनले धान्न सकेसम्म विदेशबाट सम्बन्धित कृषिजन्य बस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने घिमिरेको माग छ ।
‘आयात नै गर्ने हो भने भन्सार शूल्क बढाउनुपर्छ’ नेपाल सुपारी खेती संस्थाका उपाध्यक्ष शेखरनाथ अधिकारीले भने,’आयात भएको सामानको खपत भएको विवरण सरकारले व्यवसायीसँग माग्नुपर्छ ।’
तर अहिले विदेशबाट आयत गर्ने र पुनः चोरबाटो प्रयोग गर्दै नेपाली उत्पादनका नाममा तेस्रो मुलुकमा निर्यात गर्ने माफीयाको चलखेल बढेको छ ।
आयात र निर्यात
आर्थिक वर्ष २०७२/७३ मा मात्रै विदेशबाट ५४ करोड रुपैयाँको लसुन, सवा २ अर्बभन्दा बढीको सुपारी , साँढे ३ अर्बभन्दा बढीको स्याउ, २५ लाखभन्दा बढीको अलैंची र ३२ करोड रुपैयाँभन्दा बढीको अदुवा आयात गरिएको थियो ।
त्यस्तै ५ लाख रुपैयाँ बराबरको स्याउ, साँढे १ अर्बको सुपारी, १३ करोडभन्दा बढीको लसुन, ४ अर्ब भन्दा बढीको अलैंची र ६४ करोड बराबरको अदुवा निर्यात भएको कृषि मन्त्रालयले जनाएको छ ।
उत्पादन कति ?
आर्थिक वर्ष २०७१/७२ मा कुल ५६ सय हेक्टर जमिनमा ४३ हजार मेटि्रक टन स्याउ उत्पादन हुँदै गर्दा करिब २४ हजार हेक्टर जमिनमा साँढे २ लाख मेटि्रक टन अदुवा उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
करिब ४ हजार हेक्टर जमिनमा १३ हजार मेटि्रक टन सुपारी, ७ हजार हेक्टर जमिनमा ४४ हजार मेटि्रक टन लसुन र १२ हजार हेक्टर जमिनमा ५ हजार मेटि्रक टन भन्दा बढी अलैंची उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
source: onlinekhabar

Post a Comment

 
Top