0

यी हुन् ४ नम्बर प्रदेशका जिससमा एमालेका उम्मेदवार


चार जिल्लामा एमालेको एकल बर्चश्व,तीन जिल्लामा गोलाप्रथाबाट चुनिदै

१२ साउन,काठमाडौं । नेकपा एमालेले स्याङ्जा र नवलपरासी बाहेक ४ नम्बर प्रदेशका अन्य सबै जिल्ला समन्वय समिति जिससका प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ ।

बिहीवार बसेको स्थायी कमिटी बैठकले प्रदेश कमिटीले पठाएका नाम अनुमोदन गरेको हो ।

पर्वत र मुस्ताङमा बिहीबार नै मनोनयन गर्नुपर्ने भएकाले कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । गोरखामा एमालेले एउटा पनि स्थानीय तह नजितेकाले उम्मेदवार सिफारिसनै भएको छैन ।

एमाले स्थायी कमिटी सदस्य तथा ४ नम्बर प्रदेश संयोजक किरण गुरुङका अनुसार पर्वतमा दलित र मुस्ताङमा महिलालाई प्रमुखको उम्मेदवार बनाइएको छ । स्याङ्जामा केही दिनपछि उम्मेदवार तय हुने गुरुङले अनलाइनखबरलाई बताए ।

कुन जिल्लामा को-को ?

एमालेले पर्वतको जिल्ला समन्वय समिति प्रमुखमा मनोहर विश्वकर्मा पौडेल र उपप्रमुखमा यमकुमारी रानालाई उम्मेदवार बनाएको छ । त्यहाँ एमालेको एकल बहुमत रहेको छ ।

मुस्ताङमा एमालेले प्रमुखमा छिरिङ ल्हमु गुरुङ र उपप्रमुखुममा रिङदिङ नामग्याल गुरुङलाई उम्मेदवार बनाएको छ । त्यहाँ एमाले र कांग्रेसको बराबरी मतसंख्या रहेकाले गोलाप्रथाबाट निर्वाचन हुनेछ ।

कास्कीमा बयानबहादुर अधिकारी क्षेत्री प्रमुख र साबित्री भण्डारी उपप्रमुखका उम्मेदवार तोकिएका छन् । कास्कीमा पनि एमालेको एकल बहुमत रहेकाले एमाले उम्मेदवारको जित निश्चित छ ।

एमालेको एकल वर्चश्व रहेको लम्जुङमा एमालेले जिल्ला समन्वय समितिको प्रमुखमा लोकराज पाण्डेलाई टिकट दिएको छ । उपप्रमुखको भने नाम टुंगो लाग्न बाँकी रहेको छ ।

त्यस्तै म्याग्दीमा देवेन्द्रवहादुर केसी प्रमुख र देववहादुर घले उपप्रमुखको उम्मेदवार तोकिएका छन् । म्याग्दीमा एमाले र राप्रपा मिलेका छन् । त्यहाँ राप्रपाको एक भोट छ । कांग्रेस एकातिर, एमाले राप्रपा एकातिर हुँदा बराबरी मत हुने भएकाले त्यहाँ पनि गोलाप्रथाबाट निर्वाचन हुने देखिएको छ ।

एमालेले मनाङमा चीनवहादु गुरुङलाई जिल्ला समन्वय समिति प्रमुखको उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेबीच बराबरी मत भएकाले त्यहाँ पनि गोलाप्रथा गरिदैछ । एमाले र कांग्रेसका बराबरी चार चार भोट छन् ।

स्थानीय दलहरुबीच गोला तान्दा प्रमुख पाउनेले आधा सदस्य पाउने र अर्को पक्षले उपप्रमुखसहित बाँकी सदस्य पाउने सहमति भएकाले उपप्रमुखको उम्ेमदवार नतोकिएको एमाले नेता गुरुङले बताए ।

बागलुङमा एमालेले माओवादी,राष्ट्रिय जनमोर्चा र राप्रपा तीनै पक्षसँग सहमतिका लागि छलफल गरिरहेको छ । कुनै पनि दलको बहुृमत नभएकाले एउटा पक्षसँग मिल्ने गरी बिष्णु भुषाललाई उम्मेदवार तोकिए पनि प्रमुख वा उपप्रमुख भनेर अहिलेनै किटान नगरिएको उनले बताए ।

कांग्रेसको एकल बहुमत रहेको तनहुँ जिल्लामा पनि एमालेले उम्मेदवारी भने दिने भएको छ । प्रमुखमा कृष्णराज ढकाल र उपप्रमुखमा बसुन्धरा रानालाई तय गरिएको छ ।

Post a Comment

 
Top