0
आश्विन १३, २०७३- भारतले काश्मीरस्थित पाकिस्तानी सीमाक्षेत्र (लाइन अफ कन्ट्रोल) मा बिहीबार ‘सर्जिकल आक्रमण’ गरेपछि दक्षिण एसियाली दुई आणविक शक्तिबीच तनाव बढेको छ । तनावसँगै दुई देशबीच युद्धको छनक देखिन थालेको छ । 

भारतीय गृहमन्त्री राजनाथ सिंहले टविट गरेका छन्, ‘पाकिस्तान आतंकवादी मुलुक हो, यसलाई त्यही रूपमा लिएर एक्ल्याउनुपर्छ ।’ उता पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार सर्ताज अजिजले विज्ञप्ति निकाल्दै आफ्ना नागरिकलाई भनेका छन्, ‘मोदी सरकारका वरिष्ठ अधिकारीहरूका आधारहीन एवं गैरजिम्मेवार आरोपको प्रतिवाद गरौं ।’ 
गत सेप्टेम्वर १८ मा उरी आर्मी बेसक्याम्पमा भएको हमलाको जवाफका रूपमा भारतले बिहीबार पाकिस्तानी सैनिकमाथि आक्रमण गरेको हो । आक्रमणमा कति क्षति भयो भन्ने प्रस्ट जानकारी दुवैतर्फबाट दिइएको छैन । भारतीय सञ्चार माध्यमले रातभर भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको दाबी गरेका छन् । पाकिस्तानले भने आफ्ना दुई सैनिकको मृत्यु भएको र ९ जना घाइते भएको बताएको छ । पाकिस्तानले यो ‘सर्जिकल आक्रमण’ नभई सीमाक्षेत्रमा भारतले फायरिङ गरेको दाबी गरेको छ ।  


आक्रमणबारे भारतीय सेनाका लेफटिनेन्ट जनरल रनवीर सिंहले बिहीबार मध्याह्न भारतीय विदेश मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । उनले आक्रमणको उद्देश्य आतंककारीको योजना र घुसपैठलाई नियन्त्रण गर्नु रहेको जानकारी गराएका थिए । उनले आक्रमणले आतंकारीलाई निस्तेज गरेको जनाउँदै यस्तो प्रकारको ‘अपरेसन’ लाई निरन्तरता दिने योजना नरहेको बताए । 
गत सेप्टेम्बर १८ मा उरीस्थित भारतीय सैनिक क्याम्पमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु भएको थियो । भारतले त्यो आक्रमणमा पाकिस्तानमा प्रशिक्षित तथा संरक्षित आतंकावादीको संलग्नता रहेको दाबी गरिरहेको छ । भारतले पाकिस्तानमाथि आफ्नो सीमामा आतंकवादी गतिविधिलाई बढावा दिएको आरोप लगाइरहेको छ भने पाकिस्तानले त्यसलाई अस्वीकार गर्दै आएको छ । 
सन् १९४७ मा बेलायतबाट दुई देश स्वतन्त्र भएसँगै काश्मीर इलाकाको स्वामित्व विवाद चल्दै आएको छ । लगत्तै सन् १९४८ सम्म, १९६५ र १९९९ मा भारत–पाक युद्ध भए । सानातिना घटना भइरहेका छन् र  पटक–पटकका युद्ध र हिंसात्मक घटनामा ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ । 
केही दिनयता दुई मुलुकका राजनीतिक नेतृत्वले सार्वजनिक रूपमा एक–अर्काको तिक्त आलोचना गर्दै आएका छन् । थप सैन्य तनाव बढे कतै दुई मुलुकबीच युद्ध त हुने होइन भन्ने भय दक्षिण एसियामै छाएको छ । पाकिस्तानले यस्तो घटना फेरि दोहोरिए नसहने र भारतले यस खाले ‘अपरेसन’ लाई निरन्तराता नदिने भनेकाले युद्धकै अवस्थामा नपुग्ने जानकारहरू बताउँछन् । 
अमेरिका, चीन, रुसलगायत शक्तिशाली मुलुकहरूले दुवै देशलाई संयमता अपनाउन दबाब दिइरहेका पनि छन् । अर्कातर्फ दुवै देशका सेनाले भविष्यमा आइपर्ने जस्तोसुकै परिस्थितिका लागि तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । 
भारतीय पक्षको आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आफ्नो शान्तिपूर्ण नियतलाई कमजोरीका रूपमा नलिन र आफ्नो सैन्य शक्ति देशको भौगोलिक अखण्डताको रक्षा गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । भारत पनि उत्तिकै कडा रूपमा उत्रिएको छ । 
गएको एक साताबीच मात्र भारतीय विदेश मन्त्रालयले पाकिस्तानी हाइकमिसनलाई दुई पटक बोलाएर घटनाबारे सोधिसकेको छ । भारत र पाकिस्तानबीच सन् २००३ मा लाइन अफ कन्ट्र्र्रोलमा युद्धविरामको सहमति भएको थियो । तर पछि विविध कारणले त्यसमा हस्ताक्षर भने हुन सकेन । सन् २००४ मा पाकिस्तानले दुई देशको लाइन अफ कन्ट्रोलमा भारतविरोधी कुनै पनि गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे पनि त्यसको पालन नगरेको भारतले बताएको छ ।  
भारतमा भने राजनीतिक एकमत छ । विपक्षी भारतीय कांग्रेसले सरकारको कदमलाई स्वागत गरेको छ । पार्टी अध्यक्ष सोनिया गान्धीले देशको रक्षा गर्ने सरकारको काममा आफ्नो समर्थन हुने बताइन् । उनले पाकिस्तानले आतंककारीको संरचनालाई ध्वस्त पार्नुपर्ने समेत बताइन् ।
उरी आक्रमणपछि भारतले पाकिस्तानमाथि कूटनीतिक, राजनीतिक, सैन्यलगायत सबै किसिमका दबाब बढाएको थियो । दबाब सिर्जना गर्न नै भारतले पाकिस्तानमा हुने १९औं सार्क सम्मेलनमा सहभागी नहुने घोषणा गरिसकेको छ । त्यसैगरी पाकिस्तानमाथि दबाब सिर्जना गर्न भारतले पाकिस्तानसँगको सिन्धु नदीको पानी बाँडफाँड सम्झौता पुनरावलोकन गर्ने घोषणा गरेको छ । सम्झौता विश्व बैंकको मध्यस्थतामा भएकाले दुवैले विश्व बैकसँग कुराकानी गरिरहेका छन् ।  
यसैबीच पन्जाबका अधिकारीले पाकिस्तानसँग सिमाना जोडिएका गाउँबस्ती खाली गर्ने अभियान सुरु गरेका छन् । गृहमन्त्री राजनाथ सिंहको आग्रहअनुसार सिमानाको करिब १० किलोमिटरको बस्तीलाई सार्ने अभियान सुरु भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो घटनाप्रति दुवै मुलुकसँग सम्पर्कमा रहेको भन्दै सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेका छन् । 
त्यसो त भारत शासित काश्मीरमा भडकिएको आन्तरिक कलहको ध्यान मोड्न द्विदेशीय विवाद बढाइएको समेत कतिपयले अथ्र्याएका छन् । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले सीएनएनसँग भनेका छन्, ‘भारत शासित काश्मीरको आन्तरिक द्वन्द्वको उग्र अवस्थाबाट विश्वको ध्यान मोड्न यस्ता प्रपञ्च रचिएका हुन् ।’

Post a Comment

 
Top