0
काठमाडौँ। सिसा (लेड) को विषबाट बर्सेनि विश्वमा आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ । धातुमा खिया लाग्न नदिन तथा रङ्गलाई बढी चम्किलो बनाउन प्रयोग हुने वस्तुलाई लेड भनिन्छ । इनामेल, प्राइमर, तथा खनिज पदार्थमा सो वस्तु पाइन्छ । 
 
‘सिसाको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना’ सप्ताहअन्तर्गत स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, वातावरण प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा मंगलबार आयोजित कार्यक्रममा लेडको प्रयोगले छाला, हृदयघात तथा रगतजन्य रोग लाग्ने हुँदा यसको उपयोग न्यूनीकरण गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन् । 
 
विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. सुदन पन्थीले सो वस्तु दीर्घकालसम्म शरीरमा सञ्चित भई विभिन्न खालको विष उत्पादनमा सहयोग गर्ने बताउँदै शरीरका विभिन्न प्रक्रिया स्नायु प्रणाली, रक्तकोसका, स्वासप्रणाली, पाचन प्रणाली, मस्तिस्कघातलगायत रोग लाग्ने खतरा रहेकाले प्रयोग न्यूनीकरण गरी विकल्प खोज्नुपर्ने बताए  । 
 
ग्रील व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले मानव हानिकारक वस्तु तथा रसायनले स्वास्थ्य एवम् वातावरणमा समेत नराम्रो असर पार्ने हुँदा यसको आयातलाई प्रतिबन्ध गर्नुपर्नेमा जोड दिए । 
 
वातावरण प्रवद्र्धन केन्दका कार्यकारी निर्देशक रामचरित साहले लेडयुक्त रङ्ग तथा अन्य वस्तु उन्मूलनका लागि विश्वव्यापी सञ्जालको अभियान अन्तर्गत अन्तर्राष्ट्रिय रुपमा सन् २०२० सम्म लेडयुक्त रङ्ग उन्मूलन गर्ने लक्ष्य राखेको बताए । 
 
नेपालमा चार वर्षदेखि प्रत्येक वर्ष अक्टोबर २३ देखि २९ सम्म ‘सिसाको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना’ दिवस मनाइन थालिएको छ । रासस 

Post a Comment

 
Top