0
apple_samsungदक्षिण कोरियाली कम्पनी सामसुङ विरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा अमेरिकी कम्पनी एप्पलले अर्को महत्वपूर्ण विजय हासिल गरेको छ ।
अमेरिकाको एक पुनरावेदन अदालतले ११ करोड ९६ लाख अमेरिकी डलर क्षतिपूर्तिको मुद्दामा एप्पलको पक्षमा फैसला सुनाएको हो ।
यसअघि सोही अदालतको जुरीले गत फेब्रुअरीमा  गरेको फैसला उल्टाउँदै फेडेरल सर्किट अपिल अदालतले एप्पलले सामसुंगबाट प्रतिलिपि अधिकारको उल्लंघन बापत ११ करोड ९६ लाख डलर क्षतिपूर्ति पाउने फैसला गरेको हो । यो फैसलाको पक्षमा ८ जना न्यायाधीश उभिए भने ३ जनाले फैसलाप्रति असहमति जनाए ।
सामसुंगले स्मार्टफोनमा आफ्ना विभिन्न प्रविधिहरुको प्रतिलिपि चोरेको आरोप एप्पलले लगाउँदै आएको छ । स्त्रिmन अनलक गर्न स्लाइड गर्ने अर्थात् स्लाइड टू अनलक तथा अटोकरेक्सन जस्ता प्रविधिहरु सामसुंगले चोरेको आरोप एप्पलको छ ।
शुक्रबार भएको फैसलामा सामसुंगले आफुमाथिको अभियोगलाई गलत प्रमाणित गर्न नसकेको उल्लेख छ । साथै जुरीको निर्णय विवादित हुँदा अदालतले फरक फैसला गर्नु आवश्यक रहेको पनि फैसलामा भनिएको छ ।
अमेरिकी अदालतको पछिल्लो फैसलाप्रति एप्पल र सामसुंग दुबैले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
त्यस्तै सामसुंग विरुद्ध ५४ करोड ८० लाख क्षतिपूर्ति तिराउने मुद्दा अर्को हप्ता अमेरिकी सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।
स्मरण रहोस् सामसुंग र एप्पल दुबैले अमेरिका बाहिर रहेका प्रतिलिपि अधिकार हनन विरुद्धका मुद्दा फिर्ता लिने सन् २०१४ मै सहमति गरेका थिए ।
एक अर्का विरुद्ध प्रतिलिपि अधिकार हननको आरोप लगाउँदै यी दुई देश एक दर्जन भन्दा बढि देशमा कानूनी लडाइँमा संलग्न भएका छन् ।

Post a Comment

 
Top