0
भीमदत्तनगर- भारतले मङ्गलबारको मध्यरातदेखि लागू हुने गरी भारु ५०० र एक हजारका नोट बजारमा चलाउन रोक लगाएपछि आज बिहानैदेखि त्यसको असर सिमान्त सहर भीमदत्तनगर र पश्चिमी नाका गड्डाचौकीमा परेको छ ।
यहाँबाट सीमावर्ती सहरमा उपचारका लागि जाने बिरामीदेखि भारतमा श्रम बेचेर घर फर्किरहेका नेपालीलाई भारु प्रतिबन्धको असरले छोएको छ । आज बिहान कार्यालय खुल्नासाथ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको यात्रु शाखादेखि छेउमै रहेको भागेश्र मनी चेञ्जरसम्म भारु ५०० र एक हजारको नोट प्रतिबन्धको असर देखिन्थ्यो ।
“भन्सारको यात्रु शाखामा अस्थायी पैठारीदेखि दैनिक उपभोग्य सामानको राजस्व बुझाउने काम ठप्प छ,” भन्सार यात्रु शाखाका नायब सुब्बा वीरबहादुर थापाले भने। त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष जङ्गबहादुर मल्ल भारुमा प्रतिबन्धपछिको अवस्थाका बारेमा सरकारले भारतसित कूटनीतिक रुपमा पहल गरेर व्यवस्थापनमा जुट्नुपर्ने बताउँछन् ।
लामो समयदेखि गड्डाचौकीमा मनीचेञ्जर सेन्टर सञ्चालन गर्दै आएका मल्ल बिहानैदेखि सेवाग्राही तनावमा रहेका बताउनुहुन्छ । “अरुबेला ८० प्रतिशत सेवाग्राही भारु नोट खोज्न आउँथे, आज ९५ प्रतिशत सेवाग्राही भारु दिएर नेपाली नोट मागिरहेका छन्” उनले भने ।
भारतका विभिन्न ठाउँमा रोजगारी गरेर फर्किरहेका नेपाली मजदुर प्रतिबन्धको बढी मारमा परेका छन् । “पहिले नेपाल–भारतबीच खुल्ला सीमा नाका भएका कारण रु २५ हजारसम्मको कारोबार गर्न खुकुलो थियो,” मल्लले भने– “श्रम बेचेरले फर्किरहेकालाई प्रतिबन्धले मार परेको छ ।” विभिन्न तवरबाट ४/५ प्रतिशत दिएर भारु किनबेच गर्नेहरु प्रतिबन्धको मारमा परेका छन् ।
आफूसित रहेको भारु नोट भारत सरकारले दिएको अवधिमा साटिने वा के हुने भन्ने विषयमा पनि सीमावर्ती क्षेत्रका नेपाली चिन्तित बनेका छन् । त्यसका साथै नेपाली उपभोक्तामा बढी आश्रित हुने सीमावर्ती भारतीय बजार वनवासा, टनकपुर, खटिमालगायतका बजारमा पनि यसको प्रभाव देखिएको छ ।
भारतमा सामान किनमेलका लागि आवतजावत गर्नेको सङ्ख्यामा कमी आएको गड्डाचौकी सीमामा खटिएका एक प्रहरीले बताए । कञ्चनपुरमै सबैभन्दा बढी स्थानीयस्तरमा समेत भारु नोटको कारोबार हुने महाकाली नदीपारीको दोधारा चाँदनी नगरपालिकामा भारु नोटको प्रतिबन्धले असर पु¥याएको छ । कञ्चनपुरका साथै कैलाली, बैतडी, डडेल्धुरा, दार्चुलालगायतका भारतसित सीमा जोडिएका जिल्लामा समेत भारु नोटको प्रतिबन्धको प्रभाव देखिएको बताइएको छ । रासस

Post a Comment

 
Top