0

भद्रपुर । झापा गोल्धाप गाविस ९ मा खेतमा जमेको पानीमा डुबेर एकजनाको ज्यान गएको छ । तीनदिनदेखिको अविरल बर्षाका कारण खेतमा जमेर खाडी भएको स्थानमा डुबेर ६४ वर्षे कालीबहादुर लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार लिम्बु खेतमा चिप्लिएर लडेका थिए । त्यस्तै झापाकै गौरादह नगरपालिका ५ का ३६ वर्षे टेकेन्द्रबहादुर खड्का स्थानीय देउरिया खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका छन् । उनको खोजी भइरहको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
विगत केही दिनदेखिको अविरल बर्षाका कारण झापाका  दर्जनाैँ घर डुबानमा परेका छन् । झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग, हँडिया, निन्दा तथा मेचीमा पानीको बहाव बढेका कारण झापाका धेरै भाग डुबानमा परेका हुन् ।


एककाे उद्धार 

त्यसैगरी देउनिया नदीमा आएको बाढीले गरामनी ३ स्थित सुकुम्बासी टोल डुवानमा परेको छ । नदी किनारमा रहेको एक दर्जन बढी घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चारैतिर पानी पसेर घर डुवानमा परेका   स्थानीय ५५ बर्षीया समरबहादुर परियारलाई नेपाल प्रहरी र स्थानीय युवाकाे सहयाेगमा उद्धार गरेकाे  झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । परियार कुखुरा जोगाउन गएको बेला नदीको सतह बढेपछि रातभर आपको रुखमाथी चढेर बसेको प्रहरीले जनाएको छ ।

Source: khabarmanch.com

Post a Comment

 
Top