0
भैरहवा, जेठ २६ गते । रूपन्देहीको सिमानाबाट बहुमूल्य धातु हीराको तस्करी हुने गरेको छ । भारतको सुनौली भन्सारले हीरासहित एक व्यक्ति पक्राउ गरेपछि रूपन्देहीबाट हीराको तस्करी हुने गरेको खुलेको हो ।

अवैध रूपमा नेपालबाट भारततर्फ हीरा लैजाँदै गर्दा भारत जयपुरका ४० वर्षीय वेदप्रकाश सोनी हीरासहित पक्राउ परेको सुनौली भन्सारका प्रमुख बृजेन्द्र चौधरीले बताउनुभयो ।

प्रमुख चौधरीका अनुसार पक्राउ परेका सोनीको साथबाट २० लाख नेपाली रुपैयाँँ बराबरको १९ ग्राम हीरा बरामद भएको हो ।
काठमाडौँबाट एक व्यक्तिले अवैध रूपमा भारतमा हीरा भित्र्याउन लागेको सूचना प्राप्त भएपछि सिमानामा कडा निगरानी गरेर सोनीलाई पक्राउ गर्न सफल भएको भन्सार प्रमुख चौधरीले बताउनुभयो ।
उक्त हीरा काठमाडौँबाट दिल्ली हुँदै जयपुर लैजान लागेको सोनीले बयान दिएका छन् ।
करिब एक वर्षदेखि रुसी माफियाहरूले विदेशबाट नेपालको रुट प्रयोग गरी भारततर्फ हीरा तस्करी गरिरहे पनि नेपाल–भारतको सीमामा सुनौली भन्सारले पहिलो पटक हीरा बरामद गरेको हो ।
भारतमा तस्करीका लागि रुसी माफियाले विदेशबाट अवैध रूपमा नेपालको एकमात्र त्रिभुवन विमानस्थल हुँदै नेपालमा हीरा भित्र्याउने गरेको समेत भारतीय भन्सारको अनुसन्धानमा खुलेको छ ।
रुसी माफियाहरूले नेपाल र भारत दुवै देशका नागरिकलाई रकमको प्रलोभन देखाई हीरा तस्करी गराउने गरेको बुझिएको छ ।
विदेशबाट त्रिभुवन विमानस्थल हुँदै अवैध हीरा नेपाल भित्रिन्छ । त्यसपछि रुसी माफियाले अवैध हीरा भारतसम्म पु¥याउनका लागि एकजना भारतीय भरिया मात्र प्रयोग गर्छ । नेपालमा भने माफियाले विभिन्न भरियामार्फत मुलुकका विभिन्न रुट परिवर्तन गर्दै अवैध हीरा भारतसम्म पु¥याउने गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार रूपन्देहीको सिमानाको हकमा काठमाडौँबाट भारतीय सिमानाको शहरसम्म पु¥याउनका लागि रुसी माफियाले पाँच जना नेपाली भरिया प्रयोग गर्छन् ।
काठमाडौँबाट हीरा भारत पु¥याउनका लागि पहिलो भरियाले मुग्लिङसम्म, अर्को भरियाले नारायणगढसम्म ल्याउने गर्छ । तेस्रो भरियाले नारायणगढबाट बुटवलसम्म, चौथो भरियाले बुटवलदेखि भैरहवासम्म र पाँचौ भरियाले भैरहवादेखि भारतका विभिन्न ठाउँमा पु¥याउने गरेको उच्च स्रोतले बतायो ।

Post a Comment

 
Top