0
काठमाडौं, साउन १५ । पन्ध्र दिन लामो अनसन तोडेको ५ दिनमा नै सडकमा उत्रिएका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकमान कार्कीलाई बोकेको आरोप लगाएका छन् ।


उनले प्रमुख दलका शीर्ष नेताहरुको नामै लिएर प्रश्न गरे, ‘कुहिएको सिनो कहिलेसम्म बोक्नुहुन्छ ?’
डा. केसीका समर्थकहरुले शनिबार निकालेको ‘वाक विथ डा. केसी’ नामक पदयात्रामा सहभागी भएका केसीले सांसदहरुलाई लोकतन्त्र वा लोकमानतन्त्र मध्ये एक रोज्न पनि चेतावनी दिए ।
माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई केसीले सम्बोधन गरेका थिए । उनले आफू स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको भन्दै आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीलाई भ्रष्टाचारको नायक भन्दै उनलाई संसदमा अविश्वासको प्रस्ताव पारित गरी हटाउनु पर्ने सहित ४ बुँदे माग राखेर आठौं पटक अनसनमा बसेका गोविन्द केसीले सरकारसँग ४ बुँदे नै सम्झौता गरी गत साता अनसन तोडेका थिए ।
डा. केसीको मागलाई साथ दिदैं केही सांसदले संदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव समेत अलपत्र अवस्थामा छ । नयाँ सरकार गठनको रस्साकस्सीमा रहेको संसदमा तत्काल उक्त सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने सम्भावना छैन ।

Source: nepalipatra.com

Post a Comment

 
Top