0
१५ साउन, काठमाडौं । प्रचण्ड र वामदेव गौतम कम्युनिस्ट आन्दोलनका चर्चित नेता । दुवै नेता आफ्ना अभिव्यक्ति र कार्यशैलीका कारण वेलावेलामा विवादमा पनि पर्छन् ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव पेस गर्नुअघिसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गौतमबीच घनिष्ट सम्बन्ध थियो । तर, अहिले भने यी दुईबीच सम्बन्धमा खटपट आउने संकेत देखिएको आजको नयाँ पत्रिकामा ‘सम्बन्ध प्रचण्ड-वामदेव दोस्तीमा खटपट’ मा जनाइएको छ ।
Bamdev-Gautam

वामदेवले बचाए माओवादी नेता
माओवादीले नेपाली सेनामाथि पनि हमला बोलिसकेपछि अवस्था यस्तो थियो कि, माओवादी–सेना जसले भेटे पनि एकले अर्काे पक्षलाई सिध्याउने मात्रै सोच राख्थे ।
त्यसवेला राजधानीबाट पक्राउ परेका कतिपय माओवादी नेता–कार्यकर्ता अझै बेपत्ता छन् । तर, तीमध्ये केहीलाई भने वामदेवले मृत्युको मुखबाट बचाएका छन् ।
भैरवनाथ गणमा लामो समयदेखि बेपत्ताको अवस्थामा राखिएका तत्कालीन नेताहरू कृष्ण केसी, हिमाल शर्मालगायतका नेताहरूको सन्दर्भमा गौतमले आफ्नै स्रोत परिचालन गरी अवस्था पत्ता लगाए ।
त्यसपछि गौतमले सप्रमाण तत्कालीन प्रधानसेनापति, राजालगायतसम्म पुगी जीवनरक्षाका लागि काम गरे । गौतमले आफूले प्रचण्डसँगको दोस्तीकै कारण मृत्युको मुखबाट माओवादीका धेरै नेता कार्यकर्तालाई बचाउन भूमिका खेलेको बताए ।
‘माओवादीका धेरै नेता कार्यकर्तालाई युद्धकालमा सुरक्षित अवतरण गराउन मैले भूमिका खेलेको छु । त्यो मैले मेरो पार्टी भनेर गरिनँ । प्रचण्डका कारण मैले सबै गरेँ । प्रचण्डसँग मेरो दोस्ती भयो र उहाँले मलाई जीवनभरिको दोस्तीका निम्ति प्रस्ताव राख्नुभयो ।’ गाैतमले भने ।
 तत्कालीन अवस्थामा भैरवनाथ गणमा रहेका माओवादी नेता हिमाल शर्मा पनि आफूहरूको जीवनरक्षाका लागि गौतमले भूमिका खेलेको बताउँछन् ।
‘हामीले नै अनुभूति हुने गरी उहाँले सचेततापूर्वक हाम्रो जीवनरक्षाका लागि भूमिका खेल्नुभएको थियो,’ शर्माले भने, ‘हामीले पनि उहाँ (वामदेव)लाई पछि धन्यवाद दिएका थियौँ ।’

Post a Comment

 
Top