0
काठमाडौं- एउटै खेलाडीले सिंगो प्रतियोगितामा राज गर्नु पौडी खेलको विशेषता हो। उच्च फर्ममा हुने खेलाडी पूरा प्रतियोगितामा हाबी हुने यो विशेषता नेपाली पौडीमा अझै बढी छ। कुनै बेला नयना शाक्य नेपाली पौडीमा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी थिइन्। नयनामात्र होइन, करिश्मा कार्की रश्रेया धितालहरू पनि घरेलु प्रतियोगितामा आफ्नो समयका सबैभन्दा सफल पौडीवाज थिए।

पौडीमा एकछत्र राज गर्ने यस्तै स्टारहरूको सूचीमा पछिल्लो समय थपिएको नाम हो, सोफिया शाह। सोफियाले बुधबार सम्पन्न२१ औं राष्ट्रिय खुला तथा अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा ८ स्वर्ण पदक जितिन्। उनले भाग लिएका सबै इभेन्ट्समा स्वर्ण जित्दै आफूलाई सर्वाधिक स्वर्ण जित्ने खेलाडीमा स्थापित गरिन्।
झट्ट हेर्दा युरोपियन खेलाडी जस्तो देखिन्छिन्, सोफिया। सोफिया नेपाली पिता सञ्जय र डेनिस आमा यानाकी सन्तान हुन्।त्यसैले उनी आदिवासी नेपाली देखिन्नन्, होइनन्।
घरेलु पौडीमा सोफियाको परिचय कीर्तिमानी खेलाडी बनिइसकेको छ।जुन फेरिने क्रममा छ। पौडी खेलाडीसोफिया केही वर्ष पोखरीको व्यस्तता थाँती राख्दै स्पोर्टस मेडिसिन पढ्न अर्को महिनाको अन्त्यमा अमेरिका जाने भएकी छन्।
अध्ययनका लागि देश छोडेपनि पौडीबाट अलग नहुने सोफियाले बताइन्। 'अहिले नै पौडी छोड्न लागेको होइन। पढाइसँगै त्यहाँ पौडी प्रशिक्षण पनि गर्नेछु। अवसर मिले नेपालको तर्फबाट खेल्ने प्रयास पनि गर्छु,' उनले भनिन्, 'केही वर्ष परिवार,साथी र टिमलाई मिस गर्नेछु। उनीहरूसँग बिताएका समय ज्यादै अमूल्य छन्। टिमवर्क, प्रशिक्षकको मिहिनेत र साथीहरूको सहयोग मैले बिर्सन नसक्ने कुरा हुन्।' 
लिंकन स्कुलमा अध्ययरत १८ वर्षीया सोफियाले अमेरिका जानुअघि खेलेका प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्दै यहाँसम्मको करिअरलाई अविस्मरणीय बनाएकी छन्।
उनले २१ औं राष्ट्रिय खुला र अन्तर विद्यालयस्तरीय पौडीको पहिलो दिन २ सय मिटरफ्रिस्टायल, १ सय मिटर फ्रिस्टायल र५० मिटर बटरफ्लाईमा स्वर्ण जितेकी थिइन्। अन्तिम दिन उनले आफ्नो वर्चस्वलाई निरन्तरता दिने क्रममा २ सय मिटर व्यक्तिगत मिड्ले, १ सय मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर फ्रिस्टायल र १ सय मिटर बटरफ्लाईमा स्वर्ण जितेकी थिइन्।
एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेकी सोफियाको नाममा अहिले तीन राष्ट्रिय कीर्तिमान छ। ५० मिटर फ्रिस्टायल, २०० मिटर फ्रिस्टायल र ४००मिटर व्यक्तिगत मिड्लेको राष्ट्रिय कीर्तिमान उनको नाम छ। २०१३ यता उनले खेलेका विभिन्न इभेन्टमा १५ पटक राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन्। उनले दुईपटक फिना विश्व पौडी च्याम्पियनसिपको अनुभव बटुलेकी छन्। सोफियाले१५औं फिना विश्व च्याम्पियनसिप स्पेन र१६ औं विश्व च्याम्पियनसिप रुसमा भाग लिएकी थिइन्।
भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा सोफियाले ५० मिटर फ्रिस्टायल २८.८५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यस्तै १२औं सागमा उनले २०० मिटर फ्रिस्टायल २मिनेट १३.३२ सेकेन्डमा पूरा गरेपछि अर्को राष्ट्रिय कीर्तिमान बनेको थियो। त्यस्तै उनले १२ औं सागमै ४ सय मिटर व्यक्तिगत मिड्लेमा पनि कीर्तिमान बनाइन्। उनको नाममा ५ मिनेट ४७.६९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ।
कीर्तिमान बनाउन सिपालु सोफिया प्रशिक्षक ओङ्देन लामाका पनिप्रिय खेलाडी हुन्। प्रशिक्षक लामा सोफिया नेपाली पौडीको प्रतिभाशाली खेलाडी भएको बताउँछन्। 'मैले उनलाई पाँच वर्षअघि सातदोबाटोको पोखरीमा देखेको हुँ। उनसँग सुरुदेखि खेल स्पिरिट र आत्मविश्वास राम्रो थियो,' उनले भने, 'पछि उनले हरेक प्रतियोगितामा आफ्नो प्रभावबढाउने कोसिस गरिन्। जसले उनलाई छिटै नेपाली पौडीमा सफल खेलाडीको रूपमा चिनायो।'
आफ्नो अध्ययनले नेपाली पौडीको विकासमा सहयोग गर्ने सोफियाको तर्क छ। उनी भन्छिन्, 'मैले मेरो खेललाई सहयोग गर्ने विषय रोजेकी छु। भविष्यमा पौडीको स्तर विकासमा काम गर्ने मेरो लक्ष्य हो। अध्ययनसँगै मैले त्यहाँ प्रशिक्षण गर्ने अवसर पनि पाएकी छु। त्यही भएर अमेरिका जाने निर्णय गरेकी हुँ।'
सोफियाको अनुभवमा नेपाली पौडी खेलाडीको मिहिनेत गर्ने आँट सबैभन्दा राम्रो पक्ष हो। थुप्रै समस्याबीच पनि राम्रो नतिजा निकाल्न खेलाडीहरूले सधैँमिहिनेतजारी राख्ने गरेको सोफियाले बताइन्। उनले भनिन्, 'हामीसँग वर्षभर प्रशिक्षण गर्ने सुविधा छैन। तर खेलाडीले थोरै अवधिमा पनि कडा मिहिनेत गर्छन्। केही गर्ने भावना सबै खेलाडीमा छ।'

Post a Comment

 
Top