0
काठमाडौं, १० साउन । नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक छलफल र नेपाली काँग्रेसका शीर्षनेतासँग भेटवार्ता गर्ने तयारी तीब्र पारिएको केन्द्रको स्रोतले जनाएको छ ।
यता बाधा अड्काउ फुकाउको आदेश जारी गर्नुपर्ने र त्यसपछि मात्र राष्ट्रपतिले सरकार गठनका लागि आव्हान गर्ने भएकाले नयाँ सरकार गठनका लागि कम्तिमा पनि १५ दिनको समय लाग्ने भएको छ । कांग्रेस र माओवादी केन्द्रबीच यसअघिनै प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि सहमति भैसकेको छ । कांग्रेस र माओवादीबीच सरकारमा सहभागी हुने दल, मन्त्रालयको भागबण्डालगायतका कुरामा छलफल केन्द्रित हुने भएको छ ।
माओवादीबाट को को हुँदैछन् मन्त्री ?
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टीबाट को–को मन्त्री बन्लान् भन्ने चर्चा व्यापक भएको छ । पेरिसडाँडामा केही व्यक्तिहरु नामै किटेर मन्त्री बन्ने सांसदहरुको अनुमान गरिरहेका छन् । प्रचण्डले नेतृत्व गर्ने नयाँ सरकारमा माओवादीले प्रधानमन्त्रीसहित आठ र कांग्रेसले १२ मन्त्रालय सम्हाल्ने पक्कापक्की भएको छ । कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य भइरहेको माओवादी केन्द्रका एक नेताले बताए ।

चर्चा अनुसार माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी माओवादीबाट मधेसबाट प्रतिनिधित्वगरि प्रभु शाह सरकारमा जाने तयारीमा छन् । यससँगै महिलाबाट रेखा शर्मा दोहिरिने सम्भावना छ । शर्माको नाममा विवाद उत्पन्न भएमा कमला दोङ महिलाको प्रतिनिधित्व गरी सरकारमा पठाउने माओवादीको तयारी छ । कर्णाली क्षेत्रबाट महेन्द्र शाही, दलितबाट दलचित्त शाही, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राम कार्की सरकारमा सहभागी हुने सम्भावना प्रबल छ ।

Post a Comment

 
Top