0
श्रावण १०, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिस बमोजिम प्रधानमन्त्री चयनका लागि विद्यमान अवरोध हटाउन सोमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छिन् । नयाँ सरकार गठनका लागि आह्वान भने सोमबारै साँझसम्ममा हुने बताइएको छ । 
संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्नका लागि उक्त आदेश जारी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले आइतवार त्यससम्बन्धी सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालय शितल निवासले जारी गरेको सूचनामा भनिएको–‘अर्को प्रधानमन्त्रीको निर्वाचन प्रारम्भ गर्न बाधा अड्काउ परेकोले नेपालको संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको छ ।’
राष्ट्रपतिबाट जारी बाधा अड्काउ फुकाउने आदेश
 आज मिति २०७३ साल श्रावण १० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट "नेपालको संविधानको धारा २९८ मा संक्रमणकालीन मन्त्रिपरिषद्‌सम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्थाबमोजिम व्यवस्थापिका-संसदबाट वर्तमान प्रधानमन्त्री निर्वाचित भई निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन भएकोमा धारा २९८ को उपधारा (८) बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनु भएको तर अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट व्यवस्था उक्त धारामा नरहेको कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकोले नेपालको संविधानको धारा २९८ को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने" गरी मन्त्रिपरिषद्को मिति २०७३/४/९ को सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको छ।

    (केशव प्रसाद घिमिरे)
    सहायक प्रवक्ता
source: ekantipur.com

Post a Comment

 
Top