0
कुर्सीमा बसेर काम गर्ने जीवनशैलीका कारण कम उमेरमै हुने मृत्युको जोखिम दैनिक एक घण्टाको तीव्र व्यायामले घटाउने वैज्ञानिकहरुले बताएका छन्।
१० लाखभन्दा बढी मानिससंग सम्बन्धित विवरणको विश्लेषणबाट निकालिएको उक्त निष्कर्ष ब्रिटिश जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित छ।
केही दिनपछि सुरु हुने रियो ओलिम्पिक्सको मौका पारेर यससम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको हो।
निचोड
कुर्सीमा बसिरहनेभन्दा टिभी हेरेर बस्नु बढी खराब पाइयो।
यसको कारण शायद टिभी हेर्दै ‘स्यान्क्स’ खाने बानी हुनसक्छ।
हाल ब्रिटेनको स्वास्थ्य मापदण्डले हप्तामा १ सय ५० मिनेटको मध्यम खालको व्यायाम गर्न सुझाव दिएको छ।
निस्क्रिय हुंदा मुटुको रोग, चिनी रोग र केही क्यान्सरको जोखिम बढ्ने ठानिन्छ।
मृत्यु
शारीरिक निस्क्रियतालाई विश्वभर प्रति वर्ष ५३ लाख जनाको मृत्युको कारणको रुपमा हेरिन्छ।
धूमपानका कारण भने प्रति वर्ष ५१ लाख मानिसको मृत्यु हुने गरेको बताइन्छ।
‘द ल्यान्सेट’ को खोजले दैनिक व्यायाम नगर्ने मानिसहरुले विश्व अर्थतन्त्रमा प्रत्येक वर्ष ६७ अर्ब डलरभन्दा बढीको भार थपिरहेको निष्कर्ष निकालेको छ।
शारीरिक निस्क्रियताका कारण सन् २०१३ मा करिब ५४ अर्ब डलर स्वास्थ्य उपचारमा खर्च भएको र करिब १३ अर्ब डलर चाहिँ, स्वास्थ्यका कारण कर्मचारी अनुपस्थित हुंदा सम्बन्धित कम्पनीको उत्पादकत्वमा आउने कमी अर्थात लस्ट प्रडक्टिभिटीमा गुम्ने गरेको बताइएको छ।

Post a Comment

 
Top