0
दमौली । साविकमा अधिकांशजसो नेवार समुदायको बाहुल्यता रहेको तनहुँ सदरमुकाम दमौली अझै पनि नेवारबहुल नै छ । तनहुँसुरका नेवार अधिक रहेको दमौलीमा पुरानो सहर बन्दीपुर र थर्पु तथा रिसिङबाट आएका नेवार समुदायको पनि बाक्लै उपस्थिती छ । तनहुँसुरपछि दोश्रो संख्यामा आउने बन्दीपुरका नेवारहरुको पुरानो संस्कृति हो, बाघजात्रा । बन्दीपुर अझै पनि हरेक वर्ष नाचिने दमौलीका लागि बन्दीपुरे नेवारको पुरानो संस्कृति ‘बाघजात्रा’ भने दुर्लभ बन्न पुगेको छ । 
slider
२५ वर्षअघि दमौलीमा नाच नाचेको सम्झने बन्दीपुर भीमसेन धर्मगुठीका कजिपाले कुमारमोहन श्रेष्ठ ती पुराना दिन सम्झन्छन् । ‘बन्दीपुरबाट भर्खरै दमौली झरेका बेला भव्यताका साथ जात्रा मनाइएको थियो,’ उनले भने,‘निकै तामझामका साथ देखाइएको पहिलो त्यो जात्रा नै अन्तिम बन्न पुग्यो ।’ 
उद्गमथलो बन्दीपुरमा रहेका बन्दीपुरेले जेनतेन धाने पनि बन्दीपुरे नेवारको बाहुल्यता रहेको दमौलीमा भने नाच नै हुन नसक्नुले संस्कृति नै बिलाउने खतरा पैदा भएको भन्दै अहिले समुदायका सदस्यले इतिहास बोकेको जात्रालाई ब्युँताउने प्रयास थालेका छन् । ‘नयाँ पुस्तामात्र हैन हामीले समेत बिर्सने खतरा भयो,’ गुठीका सदस्य एवं शिक्षा क्षेत्रमा सक्रिय द्वारिका श्रेष्ठले भने,‘नयाँ पुस्तालाई पुरानो सम्पत्ति हस्तान्तरण गर्नका लागि पनि फेरि जात्रा गर्ने निर्णय गरेका हौं ।’ 
जात्रा जोगाउन नेवार गुठीहरुको छाता संगठन गुठी समन्वय समितिले निकै प्रेरित गरेको छ । ‘आफ्नो संस्कृति सबैलाई चिनाउनुहोस् भनेर हामीले उहाँहरुलाई भन्यौं,’ समितिका अध्यक्ष क्याप्टे सुर्जकुमार मल्लले भने,‘उहाँहरुको संस्कृति अब सबै नेवारहरुको संस्कृतिका रुपमा जोगाउन हामी पनि लागि पर्नेछौं ।’
के हो बाघजात्रा ?
नेवार समुदायको बाहुल्यता रहेको भक्तपुरे संस्कृति बाघजात्रा अहिले पनि नेवारबहुल पाल्पा, पोखरा र बन्दीपुरमा नाचिन्छ । प्राचीनकालमा बाखले पशुपालक किसानलाई दुःख दिने गरेकाले हरेक वर्ष जनैपूर्णिमा पछिको पञ्चमी तिथि पारेर जात्रा निकालिन्छ । बाघलाई नचाउँदै पहलमानको सहायताले मारेको देखाइने जात्राको प्रभावस्वरुप बाखमा मनोवैज्ञानिक त्रास फैलाइने र यसैको सहायताले बाघ तर्साइने र पशुपालनमा क्षति नपुग्ने विश्वास गरिन्थ्यो । बन्दीपुरमा हुर्के बढेका कुमारमोहन आफ्ना बाबु बाजेले देखाएको जात्राकै प्रभावस्वरुप बाख्राहरु जोगिने गरेको प्रसँग सुनाउँछन् । 
अरु ठाउँमा अझै पनि अस्तित्वमा रहेको संस्कृति जोगाउन नसके भावी पुस्ताले समेत बिर्सने भएकाले अब हरेक वर्ष जात्रा गर्ने उद्देश्यका साथ प्रशिक्षण थालिएको उनले बताए ।
Source: damaulifm.org

Post a Comment

 
Top