0
भाद्र २, २०७३- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बानेश्वर, शंखमूल र पेप्सीकोलाका घरमा एकैपटक छापा मार्‍यो । अवैध कलबाइपासमा प्रयोग भएका सिम नम्बरको लोकेसनका आधारमा सोमबार छापा मार्दा कोठामा ३२, १६ र ४६ पोर्टका कलबाइपासका उपकरण फेला परे । प्रहरीले केदार अछामी र सुमन श्रेष्ठलाई पक्राउ पनि गर्‍यो ।
प्रारम्भिक अनुसन्धानबाट यी दुवैले आफूलाई विनोद श्रेष्ठले कलबाइपासमा लगाएको र उसैले बंगलादेशी नागरिक रवि चौधरीका लागि काम गर्ने गरेको खुलेको ब्युरोका एसपी हृदय थापाले जानकारी दिए । दूरसञ्चार उपकरण प्रयोग गरी अनुमति पाएका सेवा प्रदायकको कानुनी गेटवे भत्काउँदै विदेशबाट आउने कल अवैध रूपमा बाइपास गराउन बंगलादेशी नागरिक सक्रिय रहेको ९ वर्षअघि खुलेको थियो ।
काठमाडौं उपत्यका आसपासका जिल्लासँगै भारत र चीनका सीमावर्ती जिल्लामा बसेर कलबाइपास गराउन बंगलादेशी नागरिक सक्रिय देखिएपछि प्रहरीले संगठित जालो भत्काउन डीएसपीको कमान्डमा अनुसन्धान समूह परिचालन गरेको थियो । प्रहरीले २०६५ मा खुमलटारको एक घरमा छापा मारेर पहिलोपटक काठमाडौंमा फैलिएको कलबाइपासको जालो उदांगो बनाएको थियो ।
२०६७ बाट 'भ्वाइस फक्स' नाम राखेर सुरु भएको अपरेसनका क्रममा ९१ कलबाइपास हुने सेन्टरमा छापा मारेर प्रहरीले १ सय ३७ जनालाई पक्राउ गरिसकेको छ । जसमा नेपालीसँगै बंगलादेशी भारतीय र चिनियाँ नागरिकसमेत पक्राउ परेका छन् । पक्राउ परेकाहरूको बयान र प्रहरीको अनुसन्धानमा फेला परेका अधिकांश कलबाइपास सेन्टरको सञ्चालक बंगलादेशी देखिएको छ ।
राजनीतिक संरक्षण
२०६५ मा खुमलटारको ३ तले घरको पहिलो तलामा महानगरीय प्रहरी अपराध महाशाखाले छापा मार्दा ४ कोठा पुरै कलबाइवासका उपकरणले भरिएको थियो । त्यसमध्ये एक कोठाको आधा भाग कलबाइपासमा प्रयोग भएका रिचार्ड कार्डले भरिएका थिए । पहिलो अप्रेसनमा पक्राउ परेका २ बंगलादेशीको बयानमा त्यहाँको सरकारले कलबाइपास बन्द गराउन सेना खटाएपछि उताका कारोबारी नेपाल भित्रिएको खुलेको थियो ।
महाशाखाले कलबाइपास केन्द्र पहिल्याउने अभियानलाई तीव्रता दिइरहेका बेला गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) गठन भएपछि २०६७ बाट उसले संगठित अपरेसन सुरु गरेको थियो । कलबाइपासमा संलग्न केही समूहलाई राजनीतिक संरक्षण प्राप्त भएको देखिएको थियो ।
अनुसन्धानका क्रममा राजनीतिक संरक्षण प्राप्त रुवेल चौधरीसम्म कलबाइपासको धन्दामा जोडिएपछि उनी नेपाल छाडेर बंगलादेश फर्किएका थिए । रुवेल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाइँ हुन् ।
१६ जिल्लामा केन्द्र, १ सय ३७ पक्राउ
६ वर्षको अवधिमा सीआईबीले १६ जिल्लाका ९१ कलबाइपास केन्द्रमा छापा मारेर १ सय ३७ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले काठमाडौं, ललितपुर, महोत्तरी, धनुषा, रूपन्देही, झापा, हेटौंडा, मोरङ, वीरगन्ज, कास्की, मकवानपुर, पाल्पा, गोरखा, तनहुँ, काभ्रे र सुनसरीमा कलबाइपास केन्द्र फेला पारेको छ । नेपालमा प्रहरी कारबाही आक्रामक भएपछि कलबाइपासमा संलग्न समूहले नेपाल-भारत सीमामा कलबाइपास सेन्टर राखेरसमेत कलबाइपास गराएपछि भारतीय प्रहरीसँगको समन्वयमा भारतको नक्सलबाडीमा समेत छापा मारिएको थियो ।
यो ६ वर्षमा पक्राउ परेका १ सय ३७ मध्ये ३१ विदेशी नागरिक छन् । जसमा बंगलादेशीको संख्या उच्च छ । २०६७ मा बालुवाटार, जोरपाटी, महाराजगन्ज र लाजिम्पाटमा ३ बंगलादेशी पक्राउ परेका थिए । त्यसबीचमा २३ बंगलादेशी नागरिक पक्राउ परिसकेका छन् । २८ गतेको प्रहरी कारबाहीमा तीनवटै कलबाइवासमा बंगलादेशी संलग्न देखिए पनि उनी पक्राउ परेका छैनन् । पक्राउ पर्ने विदेशीमा ३ चिनियाँ छन् भने अन्य भारतीय । प्रहरी रेकर्डअनुसार कलबाइपासमा संलग्न रहेको अभियोगमा पक्राउ परेका १ सय ६ मध्ये इन्टरनेट सेवा प्रदायक संस्थाको आवरणमा कलाइपास गराउने भोलाशंकर डंगोलबाहेक अन्य सहयोगी हुन् ।
सिमकार्ड प्रणाली सुध्रिएन
प्रहरीले ६ वर्षको बीचमा कलबाइपासमा प्रयोग भएका २२ हजार सिम कार्ड फेला पारिसकेको छ । बरामद भएका सिममा एनसेलको संख्या उच्च देखिन्छ । सिम कार्डबिना कलबाइपास असम्भव हुने भएकाले प्रहरीले टेलिफोन सेवा प्रदायक कम्पनीहरूसँग पटक-पटक छलफल गरी सिम वितरण प्रणालीलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराए पनि अझै सुधार नभएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । जुनसुकै व्यक्तिको नागरिकताको नक्कलका आधारमा जतिसुकै संख्यामा सिमकार्ड पाउन सक्ने प्रणालीको दुरुपयोग भइरहेको र त्यसको फाइदा कलबाइपास गराउने गिरोहले उठाएको भन्दै प्रहरीले ध्यानाकर्षण गराएको थियो । 
तथ्यांकमा कलबाइपास
- १६ जिल्लाको ९१ स्थानमा छापा
- १ सय ३७ पक्राउ, २३ बंगलादेशी, ३ चिनियाँ ११ भारतीय
- ११ अर्ब, ४८ करोड, ४६ लाख बिगो दाबी
छापा
- ०६७/६८ - १९ स्थान
- ०६८/६९ -१६ स्थान
- ०६९/७० -१० स्थान
- ०७०/७१ -१७ स्थान
- ०७१/७२ -१७ स्थान
- ०७२/७३  -९ स्थान
- ०७३/७४ -३ स्थान

Source: ekantipur.com

Post a Comment

 
Top