पाहुनाको अक्सर एउटा प्रश्नै ‘खाना कहाँ खाने ? उत्तरमा ‘मीठो थकाली खाना नै खाने !’
घिउ हालेको मसिनो भात वा ढिँडो, जिम्बुले झानेको मुस्ताङ्गी कालो दाल, जिब्रोमा टिमुर पर्पराउने गोलभेँडाको चटनी, साँधेको गुन्द्रकु, मुस्ताङकै आलुको तरकारी, साग अनि तिख्खर झोलसहितको कुखुरा अथवा खसीको मासु र अचार पनि ।
मुस्ताङ थकाली किचनको भान्छा सम्हाल्दै आउनुभएकी मन गौचनका अनुसार थकाली महिलाले पकाउने कला चाहिँ आफ्नै अग्रजबाट सिकेका हुन् । उनका अनुसार थकाली कालो दाल बाक्लो ताप्केमा सानो आगोमा पकाउँछन्, मासुको झोल तिख्खर बनाउन मासुबाट पहिला आउने पानी सुकाएर बिस्तारै भुट्छन् अनि मसला मिलाएर झोल हाल्छन् ।
‘सिमीको दाल जिम्बुले झाने मीठो हुन्छ, मासको दालमा अदुवा बढी हाल्नुपर्छ, कति मन्द वा ठूलो आगोमा पकाउने भन्नेले पनि स्वादमा फरक पार्छ’ उनले भने ।
पाककलाकै कारण थकाली खानाको ब्रान्ड जन्मिएको बताउने पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार घन्टौँ कुरेर भए पनि त्यही खाना खानु नै थकाली खानाको मौलिकता हो । बजारमा थकालीको नाम जोडेर नक्कली थकाली रेस्टुराँ पनि खुलेको स्वीकार्दै उनले भने- ‘नक्कली थकाली कहाँ पटकपटक ग्राहक कहाँ जान्छ र ? मुखमा खाना पर्नासाथ चिनिहालिन्छ नि !’
पोखरामा अहिले व्यवस्थितरुपले थकाली खाना बेच्ने दुई दर्जन हाराहारीमा रेस्टुराँ खुलेका छन् । परम्परागतरुपले लजसहितको थकाली खाना खुवाउने रेस्टुराँ पनि उत्तिकै रहेका छन् । मुस्ताङबाट झरेकाले पोखरामा थकालीको उपस्थिति बाक्लै भएको र रेस्टुराँ पनि बढी भएको अग्रज व्यवसायी वसन्त गौचनको अनुभव छ ।
‘थकाली खाना अहिले ब्रान्ड बनेको छ, यसको ट्रेडमार्क भनेको मिहेनत नै हो भने प्याटेन्ट राइट्स पनि कसैसँग छैन’ देशविदेश चहारेपछि पोखरामा रेस्टुराँ खोलेर राम्रो कमाई गरेका गौचनले भने । रासस
Post a Comment
Post a Comment