0
४ असोज, काठमाडौं । काठमाडौंका विद्यालयहरुमा मंगलबार विहान बम पड्काएको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्बजनिक गरेको छ ।
उपत्यकाका विभिन्न स्कुलमा बम विष्फोट गराएको आरोपमा रामेछाप घर भएका शंकर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्बजनिक गरेको हो ।उनीहरु गत साउन ६ गतेको घटनामा पनि पक्राउ परेर साधारण तारिखमा छुटेका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि हतियारसहित भागेका लडाकूहरुले पार्टी बनाएको र पछिल्लो समय आपराधिक क्रियाकलापमा सकृय रहेको प्रहरीले बतायो ।
विहान बौद्धको अकाशदीप स्कुल र मनकामना उच्च मावि नजिक राखिएका बम विस्फोट भएका थिए । अन्य झण्डै आधा दर्जन विद्यालयहरुमा पनि बम भेटिएका थिए । ति बम प्रहरी र सेनाको टोलीले निष्कृय पारेको थियो । बम विष्फोटबाट मानवीय क्षती नभए पनि काठमाडौंको जनजीवन आतंकित भएको थियो ।
त्यसलगत्तै सुरक्षा निगरानी बढाएको प्रहरीले घटनामा संलग्न तीन जनाको पहिचान भएको बताएको थियो । तर प्रहरीले पत्रकार सम्मेलन गरी दुई जनालाई मात्रै सार्बजनिक गरेको हो ।
दशैंको बेला चन्दा असुल्न भूमिगत समूहले बम पड्काएको अनुमान गरिएको छ ।

Post a Comment

 
Top