0
काठमाडौं । सरकारी स्वामित्वको नेशनल ट्रेडिङ पेट्रोल पम्पले नै पेट्रोल वितरणमा अनियमितता र कालोबजारी गरिरहेको भेटिएको छ ।

मन्त्रीपरिषदको निर्णय अनुसार नेशनल ट्रेडिङले हरेक शुक्रबार पत्रकारलाई पेट्रोल दिँदै आएकोमा पुस २४ गते भने पत्रकार कोटाकै तेल कालोबजारी गर्न खोजेपछि रडाको नै मच्चिएको खुलासा भएको छ ।


सुरुमा पत्रकारलाई तेल नदिने भनेपछि २४ गते शुक्रबार बिहानै त्यहाँ टेुक पुगेका पत्रकार फर्किएका थिए । पछि पुनः तेल दिन सुरु गरिएको थियो । उक्त पेट्रोल पम्पमा हरेक हप्ता ७ सयको हाराहारीमा पत्रकारले तेल भर्दै आएकोमा २४ गते  भने डेढ सय पत्रकारलाई तेल वितरण नगर्दै ४ बजेपछि तेल नदिने भनेर रोकियो ७ घण्टादेखि लाइनमा बसेका पत्रकारहरु आक्रोशित बनेर नाराबाजीमा उत्रिएपछि पुन तेल दिन सुरु गरिएको थियो तर करिब ६ बजे लगभग ३ सय ५० जनाको संख्यामा रहेका पत्रकारलाई तेल दिएपछि तेल सक्किएको भन्दै व्यवस्थापनले तेल दिन रोकेको थियो । पम्पमा पेट्रोल हुँदाहुँदै सक्किएको भन्दै पम्प व्यवस्थापनले प्रहरी लगाएर कतिपय पत्रकारलाई जबरजस्ती बाहिर समेत निकालिएको थियो । यसरी झण्डै चार सय पत्रकारलाई हटाए पछि पम्प व्यवस्थापनले भने मध्यरातमा आफन्त तथा चिनेजानेकालाई तेल दिन सुरु गरेको भेटिएको छ ।

सबै पत्रकारलाई पम्पबाट बाहिर निकालेपछि राती १० बजे पम्प व्यवस्थापनले आफ्ना आसेपासे र केही पत्रकारलाई अनियमित तवरबाट तेल दिन सुरु गरेको थियो । तर, तेल दिने भनेर सूचना पाएर ढुकेर बसेका केही पत्रकारले मुलगेटबाट फोटो खिच्न थालेपछि त्यहाँ तेल दिन ठिक्क परेका कर्मचारी, केही पत्रकार तथा पम्प व्यवस्थापनका आफन्तहरुको सुनसान रातमा भागाभाग नै मच्चिएको थियो ।

केही पत्रकारले मूलगेटबाट फ्लास अन गरेर फोटो लिएपछि कर्मचारीहरु भने आफ्नो जागिर जाने भयो भन्दै मुख छोपेर कुनातर्फ भागेका थिए ।
आपूर्ति तथा वाणिज्य विभागका महानिर्देशक शम्भू कोइरालाले तेल वितरण गर्दा विभागका प्रतिनिधी तथा प्रहरी समेत हुनु पर्ने भन्दै रातको समयमा इन्धन वितरण गरिएको बारे छानबिन हुने बताए । उनले राती विभागको प्रतिनिधी बिना नै त्यसरी इन्धन बाड्नु सरासर गैरकानुनी भएको भन्दै छानबिन गरेर कारबाही गर्ने समेत बताए ।

उक्त पेट्रोल पम्पमा हरेक दिन जसो यसरी नै रातको समयमा सबै बत्ती निभाएर कालोबजारी हुँदै आएको छ । मूलगेट बन्द गरेपनि प्रहरी कार्यालयबाट छिर्ने गेट खुल्ला गरेर महंगो मूल्यमा समेत इन्धनको वितरण हुने गरेको बताइन्छ । आफन्त तथा चिनेजानेकालाई त्यहीँ गेट खुल्ला गरेर पेट्रोल र डिजेल दिँदै आएको स्रोतको दाबी छ ।

Post a Comment

 
Top