0
काठमाडौं– उत्तरी धादिङको मार्पाकमा आज भएको यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलमा १८ र १ जनाको उपचारको क्रममा राजधानीको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा अरु १२ जना गम्भीर घाइते भएको पनि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी सहायक निरीक्षक नारायण श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस मार्पाक गाविसस्थित लपाङखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा पहिरो गएको र पहिरो हटाएर बस अघि बढाउँदै गर्दा दुर्घटना हुन पुगेको प्रहरी चौकी दार्खाबाट घटनास्थल पुगेका हवल्दार सुरेन्द्र यादवले जानकारी दिए ।
घाइतेहरुलाई नेपाली सेनाको एमआई हेलिकप्टरमार्फत राजधानी ल्याइएको छ ।
बसभित्र र हुटमा पनि खचाखच यात्रु रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थल सदरमुकाम धादिङबेसीबाट करीब २६ किलोमिटर उत्तरमा पर्छ भने कच्चीबाटो हो ।
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी, पद्मबहादुर थापा, गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामा छन् ।

१७ को सनाखत
घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा एक टोली घटनास्थलतर्फ गएको छ ।

Post a Comment

 
Top