0
कार्तिक ११, २०७३- मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । सूर्य विनायक–तीनकुने ६ लेन सडकखण्ड अन्तर्गतत मध्यपुरथिमी स्थित आकाशेपुल मूनिबाट सडक पार गर्ने क्रममा बा ८० प ५००८ नम्बरको मोटरसाइकलको ठक्करबाट जिरी–८, दोलखाकी ४५ वर्षीय सरस्वती खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 
मोटरसाइकलको ठक्करबाट सख्त घाइते खड्काको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश विष्टले बताए । मोटरसाइकल चालक फरार रहेको र खोजी कार्य भइरहेको उनले बताए । मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गत सोमबार सोही स्थानमा नम्बर खुल्न नसकेको गाडीले ठक्कर दिँदा चाँगुनारायण नगरपालिका–१७, झौखेल घरभई जगाती बस्ने ५४ वर्षीय हरी मकाजुको मृत्यु भएको थियो । ठक्कर दिने सवारीसाधनको हालसम्म पत्ता लाग्न नसकेको र खोजी कार्य भईरहेको विष्टले बताए ।
स्राेतः कान्तिपुर

Post a Comment

 
Top