0
सिरहा- महिलामाथि लाठी प्रहार गरी घाइते बनाएपछि सिरहामा केहीबेर आक्रोशित भीडले प्रहरीको मोटरसाइकलमा आगजनी गरेको छ। प्रहरीको लाठी प्रहारबाट सिरहा-२ की मुलही देवी यादव घाइते भएकी छिन्। उनको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको छ।
सिरहामा दुर्गा पूजास्थल नजिक सिरहा-१ र सिरहा-२ नम्बर वडाका युवाबीचको झगडा भएपछि वडा प्रहरी कार्यालय सिरहाको टोली घटनास्थल पुगेको थियो। झगडा स्थलबाट प्रहरीले रामदेव यदाव, बली यादवसहित तीन जनालाई पक्राउ गर्यो। प्रहरीले तीन जनालाई पक्राउ गरी वडा प्रहरीमा लगेपछि रामदेवकी आमासहितका युवा समूह वडा प्रहरी कार्यालय पुगेको थियो।
मूल गेटमै वडा प्रहरीको टोलीले लाठी प्रहार गर्दा मुलही घाइते भइन्। उनीसँगै आएको युवा समूहले वडा प्रहरीको मोटरसाइकलमा आगजनी गरिदिएको प्रहरीले जनाएको छ। आक्रोशित युवाको भिीड वडा प्रहरीमा ढुँगामुढा गर्दै प्रहरीविरुद्ध नाराबाजी गरिरहेको प्रत्यक्षदशीले फोनमा जानकारी दिए। 
सिरहाका एसपी श्यामलाल ज्ञवालीले नागरिकन्युजसँग टेलिफोनमा भने,‘केही फटाहा युवाहरुले वडाका कमाण्डरलाई बदनाम गराउन यो घटना गराएको हो।’ प्रहरीको मोटरसाइकलमा आगजनी गरेको र महिला कुटिएको दुबै घटना सही भएको उनले बताए। महिलालाई युवाहरुले नै कुटेर प्रहरीलाई घटनामा मुछेको उनको जिकिर छ। महिलाले भने आफूमाथि प्रहरीले लठी प्रहार गरेको बयान दिएकी छन्। 
Source: nagariknews

Post a Comment

 
Top