0
महोत्तरी, २१ असोज । घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् ।
परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले आफ्नो श्रीमान्को अन्तिम इच्छा पूरा गर्नका लागि उनको चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन् ।
दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय भइन् ।
करिब १५ वर्षदेखि दम रोगबाट पीडित रहेको धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि गुलेवियालाई आग्रह गरेपछि उनी श्रीमान्को मृत्यु भएपछि गरिने हरेक विधि व्यवहारमा सक्रिय भइन् ।
श्रीमान्को दागबत्ती श्रीमतीले दिने चलन त हाम्रो मैथिली संस्कारमा छैन ? भन्ने पत्रकारको जिज्ञासामा गुलेवियाले भनिन् – “त्यो त हो, तर पहिला थिए, अब विस्तारै विस्तारै समाजमा यस्ता जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ ।”

Post a Comment

 
Top