धितोपत्रको प्राथमिक बजारमा नियमित र चाहेजति सेयर वा डिबेन्चर किन्न पाइन्न । अनि हामीले किनेको सेयर कम्पनीले फिर्ता पनि किन्दैन । सेयरमा लगानी गर्न वा लगानी बढाउन अनि प्राथमिक बजारमा किनेकै सेयर बेच्न पनि बजारमै जानुपर्छ । अझ स्थानीय, आयोजना प्रभावित, जनताको लगानी, समृद्धिको आधार आदि नाममा भिडाइएका सेयरहरूका कारण धेरै सर्वसाधारण नचाहिकनै सेयर बजार धाउन बाध्य छन् । सूचीकृत धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) को कारोबार हुने बजारलाई नै दोस्रो बजार वा सेयर बजार वा पुँजीबजार भनिन्छ । यसको सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले र नियमन नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गर्छ । क्रेता र विक्रेताको कहिले भेट नहुने र नचिन्ने यस बजारमा कम्प्युटर प्रविधि र सफ्टवेयरको मद्दतले व्यवस्थित र पारदर्शी ढंगले कारोबार सम्पन्न हुन्छ । किन्ने र बेच्नेलाई सघाउन सेवोनबाट अनुमति पाएका ५० दलाल कम्पनी (स्टक ब्रोकर वा सेयर दलाल वा ब्रोकर) लाई नेप्सेले कारोबार अनुमति र जिम्मेवारी दिएको छ । उनीहरूले तोकिएको कमिसन लिएर क्रेताका तर्फबाट किनिदिने र विक्रेताका तर्फबाट बेचिदिने तथा किनेको धितोपत्र क्रेताको डिम्याट खातामा र बेचेको रकम विक्रेताले पाउने जिम्मेवारी लिन्छन् ।सामान्य लाग्ने यस बजारमा अन्य बजारमा जस्तो पैसा लिएर गएर सहजै चाहिएजति धितोपत्र निश्चित मूल्यमा किन्न मात्र होइन, बेच्न पनि सकिन्न । यसका लागि पूर्वतयारीका साथै माग र आपूर्ति, मूल्य र अन्य केही पक्षहरूमा जानकार र सचेत हुनुपर्छ । प्रविधिमा आधारित हुँदै गएको धितोपत्र बजारमा कम्तीमा प्रविधि बुझेको, पहुँच र कम्प्युटर तथा सफ्टवेयर चलाउन पनि जान्नैपर्ने अवस्था छ ।
अत्यावश्यक कुरा र तयारी
दोस्रो बजारमा धितोपत्र किनबेच गर्न बैंक खाता, डिम्याट खाता र कारोबार खाता अनिवार्य छ । आफ्नो नाममा बैंक र डिम्याट खाता छैन भने पायक पर्ने बैंकमा खाता खोल्नुपर्छ । प्राय: बैंकले पनि डिपी सेवा दिने हुँदा सोही बैंकमा वा ब्रोकर कहाँ वा अन्य डिपी सेवाप्रदायक कहाँ डिम्याट खाता खोल्न सकिन्छ । यसपछि बैंक र डिम्याट खाताको प्रमाण (स्टेटमेन्ट वा चिठी) सहित नागरिकताको फोटोकपि र फोटो लिएर अनुमतिप्राप्त स्टक ब्रोकरको कार्यालयमा गएर ग्राहक परिचय (केवाईसी) फारम भर्दै ‘कारोबार खाता’ खोल्न सकिन्छ । ‘कारोबार खाता’ खोलेपछि विशेष ग्राहक परिचय नम्बर पाइन्छ र सोही नम्बर नै कारोबारका लागि प्रयोग हुन्छ । एकपटकमा रु. ५ लाखभन्दा बढीको धितोपत्र किनबेच गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य छ । यसका साथै आफ्नो डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको सेयर विद्युतीय प्रणालीबाट कम्प्युटर वा मोबाइलबाट हस्तान्तरण गर्न सीडीएस एनड क्लियरिङ (सीडीएससी) ले उपलब्ध गराउने ‘मेरो सेयर’को सेवा लिन सकिन्छ । डिम्याट खाता खोलिएको डीपी सेवा प्रदायकलाई वार्षिक शुल्क रु. ५० तिरेर ‘मेरो सेयर’ को सुविधाका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ । यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ ।अनलाइन कारोबारका लागि भने ब्रोकरसँग थप सम्झौता गर्नुका साथै २५ प्रतिशत रकम धरौटी राखेर युजरनेम र पासवर्ड लिएर इन्टरनेटका माध्यमबाट कारोबार गर्ने वेबसाइट (टिएमएस) मा प्रवेश गरी मोवाइल वा कम्प्युटरबाट धितोपत्र किनबेच गर्न सकिन्छ ।साँच्चै किनबेच गर्नु केही दिन ब्रोकर कार्यालयमा गएर खरिद–बिक्रीको तरिका, भुक्तानी विधि, सेयर छान्ने तरिका, लागत–लाभ र जोखिम बारेमा व्यावहारिक ज्ञान लिनु राम्रो हुन्छ । नेप्सेको वेबसाइट वा कम्पनी र अन्य अनलाइट साइटहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।
धितोपत्र किनबेच
कुन कम्पनीको सेयर किन्ने वा बेच्ने निर्णयसँगै मूल्य र कित्ता खुलाएर खरिद वा बिक्री आदेश दिनुपर्छ । हाल (क) कारोबार खाता खोलेकै स्टक–ब्रोकरको कार्यालयमा उपस्थित भएर, (ख) टेलिफोन, एमएमएस वा इमेलजस्ता सञ्चार माध्यमबाट आदेश दिएर, र (ग) अनलाइन सफ्टवेयरमार्फत आफैंले धितोपत्रको किनबेच आदेश प्रविष्ट गर्न सकिन्छ ।
(क) खरिद–बिक्री आदेश : ब्रोकर वा अनलाइनबाट दिइने खरिद वा बिक्री आदेशका आधारमा किनबेच र नाफाघाटा निर्भर रहने हुँदा चनाखो हुनुपर्छ । आदेश दिँदा कुन कम्पनीको कति कित्ता सेयर, कति मूल्यमा किन्न वा बेच्न चाहेको र सो आदेश एक दिन, एकपटक वा कारोबार नहुँदा कहिलेसम्म कायम हुने स्पष्ट गर्नुपर्छ । निश्चित मूल्य, मूल्य सीमा (प्राइस रेन्ज), वा प्रचलित बजार मूल्य तोकेर आदेश दिन सकिन्छ । अनलाइन कारोबारमा भने आदेश बहाल रहने अवधिका आधारमा ‘डे’ (एक दिन), ‘जीटसी’ (रद्द नगरेसम्म), ‘जिटिडि’ (तोकिएको दिनसम्म) तथा विधिको आधारमा ‘एओएन’ (सबै कित्ता किनबेच हुने वा पूरै आदेश रद्द गरिने), ‘आईओसी’ (पूरै वा आंशिक कित्ता धितोपत्र तुरुन्त किनबेच हुने र किनबेच हुन नसकेको आदेश तुरुन्त रद्द हुने), तथा ‘एफओके’ (सबै कित्ता धितोपत्र तुरुन्त किनबेच हुने वा पूरै आदेश तुरुन्त रद्द गर्ने) तरिकाले आदेश प्रविष्ट गर्न सकिन्छ ।
(ख) मूल्य : सेयर बजारमा सबैभन्दा जटिल र विवादस्पद भनेको मूल्य हो । अन्य वस्तु तथा सेवामा जस्तो निश्चित मूल्य हुँदैन । एकै दिन एउटै धितोपत्रको समेत प्रत्येक कारोबारमा मूल्य फरक हुनसक्छ । आमरूपमा ब्रोकरले र केहीका अनुसार ठूला तथा संस्थागत लगानीकर्ताले सेयरको मूल्य निर्धारण गर्ने र उनीहरूले चाहेको मूल्यमा किनबेच गर्ने गलत बुझाइ पाइन्छ । वास्तवमा सेयरको माग तथा आपूर्ति अनि क्रेता र विक्रेताको आपसी समझदारीमा मूल्य निर्धारण हुन्छ । जबसम्म सेयरधारकले कुनै मूल्यमा बेच्न र उक्त मूल्यमा अर्को क्रेताले किन्न चाहन्न तबसम्म कारोबार नै हुन्न । ब्रोकरले क्रेता र विक्रेताले स्वीकारेको मूल्यमा किनबेच गरिदिने मात्र हो ।किनबेच मूल्यका आधारमा कारोबारीको नाफा–घाटा र लगानीकर्ताको अदृष्य सम्पति (भर्चुअल प्रोपर्टी) निर्धारण हुने हुँदा मूल्यमा प्रभाव पार्ने प्रयास सबैले गर्छन् । किन्नेले माग घटाएर वा आपूर्ति बढ्ने र अनेक कुरा सुनाएर वा तर्साएर सस्तोमा बेच्न बिक्रेतालाई तथा विक्रेताले पनि अनेक लोभलालच र मागको सिर्जना गरेर वा आपूर्ति नियन्त्रण गरेरवा आशा देखाएर मूल्यमा प्रभाव पार्दै किनबेचमा उक्साउन सक्छन् । त्यसैले लहलहै र उक्साहटमा किनबेचको निर्णयबाट पछुताउनुभन्दा अलि बुझेर निर्णय लिन पनि व्यावहारिक ज्ञान र अध्ययन चाहिन्छ ।
कम्पनीको (क) सूचीकृत पछिको पहिलो कारोबार, (ख) हकप्रद वा बोनसका लागि बुकक्लोजपछिको पहिलो कारोबार तथा (ग) मर्जपछिको पहिलो कारोबारका लागि भने बजार सञ्चालक वा नेप्सेले सन्दर्भ मूल्य तोक्न सक्छ ।
आवश्यकता र प्राथमिकताअनुसार प्रचलित मूल्य वा सन्दर्भ मूल्यका आधारमा खरिद–बिक्रीको आदेश दिन वा किनबेच गर्न सकिन्छ । अहिले बजारमा को, कति कित्ता, कति मूल्यमा किन्न वा बेच्न बसेको थाहा नभए पनि बजारमा कुनै मूल्यमा कति कित्ता बिक्री र कति कित्ता खरिद हुने अवस्था छ ? अनि अन्तिम कारोबार कति मूल्यमा भयो ? त्यो कति रुपैयाँ र प्रतिशतले तल वा माथि ? सहितको बजारको गहिराइ (मार्केट डेप्थ) को जानकारी नेप्सेको वेबसाइटमा वा अनलाइन प्रणालीमै पाउन सकिन्छ । उदाहरणका लागि एक कम्पनीको सेयरको मार्केट डेप्थ तालिकामा दिइएको छ ।
तालिका १ः मार्केट डेप्थकाे उदाहरण
२३६
१०.०० (४.४२%)
|
यसअघिको मूल्य
२२६
|
अधिकतम
२३७
|
न्यूनतम
२२५
|
अन्तिम
| |
खरिद आदेश
|
खरिद परिणाम
|
खरिद मूल्य
|
बिक्री मूल्य
|
बिक्री परिणाम
|
बिक्री आदेश
|
१
|
४००
|
२३५
|
२३६
|
२४००
|
२
|
१
|
१०००
|
२३४
|
२३७
|
३६९९
|
६
|
३
|
१३०५
|
२३३
|
२३८
|
७६९४
|
७
|
३
|
१०५०
|
२३१
|
२३९
|
७८१०
|
१३
|
५
|
२१७२
|
२३०
|
२४०
|
११२९
|
३
|
कुल
|
४१२५२
|
२३३५७
|
मार्केट डेप्थ तालिकाले खरिद वा बिक्रीमा रहेको सेयर संख्या, मूल्यका साथै आदेशले उक्त मूल्यमा कति जनाले उल्लिखित कित्ता किन्न चाहेको देखाउँछ । मूल्यसँगै किन्न वा बेच्न राखिएको कित्ता मेल खाएपछि क्रमश: कारोबार हुन्छ । तालिकाअनुसार रु. २ सय ३५ मा ४ सय कित्ता तत्काल बेच्न सकिन्छ र रु. २ सय ३६ मा किन्न चाहे २ हजार ४ सय कित्तासम्म तत्काल पाइने सम्भावना रहन्छ ।
विद्यमान नियमानुसार बिहान कारोबार सुरुअगाडि (प्रिओपनिङ) अर्थात् १०:३० देखि १०:४५ बजेसम्म हिजोको अन्तिम कारोबार मूल्यको ५ प्रतिशतसम्म तथा नियमित कारोबार समय अर्थात् ११ देखि ३ बजेसम्म अन्तिम कारोबार मूल्यको २ प्रतिशतसम्म तल वा माथि मूल्य तय गरेर खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सकिन्छ ।
अन्य पक्षहरु
क) शुल्क, लागत र लाभ ः सेयर किन्दा वा बेच्दा निश्चित दरमा ब्रोकर कमिसन (तालिका हेर्नुस्), सेवोनको शुल्क, डिपी शुल्क सहित बेचिएकाे सेयरकाे नाफामा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्छ ।
अन्य पक्षहरु
क) शुल्क, लागत र लाभ ः सेयर किन्दा वा बेच्दा निश्चित दरमा ब्रोकर कमिसन (तालिका हेर्नुस्), सेवोनको शुल्क, डिपी शुल्क सहित बेचिएकाे सेयरकाे नाफामा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्छ ।
कारोवार रकम (रु)
|
कमिसन (%)
|
५०,००० सम्म
|
०.६ (न्यूनतम रु. २५)
|
५०,००१ देखि ५,००,००० सम्म
|
०.५५
|
५,००,००१ देखि २०,००,००० सम्म
|
०.५
|
२०,००,००१ देखि १,००,००,००० सम्म
|
०.४५
|
१,००,००,००१ देखि
|
०.४
|
प्रत्येक कारोबार रकमको ०.०१५ प्रतिशत सेवोन शुल्क तथा एक दिनमा एउटा कम्पनीको जतिवटा कारोबार भए पनि २५ रुपैयाँ डीपी शुल्क पनि लाग्छ । तिरिएको ब्रोकर कमिसनको २० प्रतिशत हिस्सा नेप्सेले पाउँछ । डिबेन्चर र म्युचुअल फन्डमा कारोबार रकमका आधारमा निम्नअनुसार कमिसन र ०.१ प्रतिशत सेवाेनकाे शुल्क लाग्छ ।
यसैले १ सय रुपैयाँ किनेको सेयरको वास्तविक लागत करिब १ सय १ रुपैयाँ र १ सय मा बेच्दा करिब ९९ रुपैयाँ मात्र पाइन्छ ।
कारोवार रकम (रु)
|
कमिसन (%)
|
५,००,००० सम्म
|
०.३ (न्यूनतम रु. २५)
|
५,००,००१ देखि ५०,००,००० सम्म
|
०.२५
|
५०,००,००,००१ देखि
|
०.२
|
यसैले १ सय रुपैयाँ किनेको सेयरको वास्तविक लागत करिब १ सय १ रुपैयाँ र १ सय मा बेच्दा करिब ९९ रुपैयाँ मात्र पाइन्छ ।
(ख) बुक क्लोज मिति : सूचीकृत कम्पनीहरूले लाभांश तथा हकप्रद तथा अन्य विशेष निर्णयका लागि लाभग्राही सेयरधनीहरूको सूची तयार गर्न बुकक्लोज मिति तोक्छ । बोनस तथा हकप्रद सेयर वितरण हुने अवस्थामा बुक क्लोज मितिको अघिल्लो दिनसम्म किनेका वा सेयरधारण गरेकाहरूले मात्र तोकिएको बोनस तथा हकप्रद पाउँछन् । अझ बोनस तथा हकप्रदको दरमा आधारमा मूल्यसमेत समायोजन हुने हुँदा बुकक्लोज मिति र समायोजित सन्दर्भ मूल्यमा निकै चनाखो रहनुपर्छ ।
(ग) मूल्य तथा सेयरको भुक्तानी : विद्यमान नियमानुसार सेयर किनेको भोलिसम्ममा रकम र बेचेको अवस्थामा सेयर सम्बन्धित ब्रोकरकहाँ पुग्नुपर्छ । रकम चेक वा अनलाइनबाट अनि सेयर ‘मेरो सेयरबाट ईडीआईएस गरेर’ वा डीआईएस (डीपीबाट पाइने डेविट इन्स्ट्रक्सन स्लिप) बाट ब्रोकरलाइ दिन सकिन्छ । बेचेको सेयर तोकिएको समयमा दिन नसके बेचिएको रकमको २० प्रतिशतले क्लोजआउट जरिवाना तिर्नुपर्ने हुन्छ ।
(घ) जोखिम वहन र व्यवस्थापन : सेयर लगानी र कारोबार सबैभन्दा जोखिमपूर्ण लगानी र व्यापार हो । यसमा कम्पनीको व्यवसाय र अर्थतन्त्रसँगै बजारको मूल्य तलमाथि हुँदाको गम्भीर जोखिम पनि गाँसिन्छ । त्यसैले अल्पकालीन लगानीमा बजारमा कम्पनीको सेयरको मूल्य र मूल्यमा प्रभाव पार्न सक्ने पक्षहरूको सूक्ष्म निगरानी तथा लक्षित नाफा वा घाटा बुक गर्नुपर्छ । दीर्घकालीन लगानीमा बजारको मूल्यभन्दा कम्पनीको व्यवसाय, व्यवस्थापन, मुनाफा, लाभांश, लागत र प्रतिफल, जोखिम लिने र व्यवस्थापन क्षमतामा ध्यान दिनैपर्छ । बढी मुनाफाको लोभमा आफ्नो क्षमताभन्दा बढी जोखिम लिएर सेयर कारोबार र लगानी निकै घातक हुन सक्छ ।
काराेवार दैनिकमा २०७६ फागुन १८ गते प्रकाशित
https://www.karobardaily.com/news/idea/29595
काराेवार दैनिकमा २०७६ फागुन १८ गते प्रकाशित
https://www.karobardaily.com/news/idea/29595
Post a Comment
Post a Comment